वर्ल्ड समिटमा सहभागी हुँदै एनलोकेट


अघिल्लो महिनामात्र काठमाण्डौमा आयोजित
‘पिभोट नेपाल मोवाइल प्रतियोगिता’मा बिजेता बन्न सफल एनलोकेट मोबाइल एप्लिकेसन बिश्वस्तरीय सम्मेलनमा सहभागी हुने भएको छ ।

बिश्व बैंक र इन्फो डेभको आयोजनामा गत बैशाखमा काठमाण्डौमा भएको प्रतियोगितामा एनलोकेट १ सय १६ प्रतिस्पर्धीलाई उछिन्दै एनलोकेटले ४ हजार अमेरिकी डलरको पुरस्कारसमेत हात पारेको थियो । ‘आउँदो साता सिंगापुरमा हुने कम्युनिक एसिया बिश्व सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै हामी सहभागी हुँदैछौं’ एप्लिकेसन बिकाशकर्ता नेपवेजका प्रबन्ध निर्देशक दीपेन चापागाईंले भन्नुभयो ।

नेपालमै बिकाश गरिएको यो एप्लिकेसनले ग्राहकको वरिपरि रहेका बैंक, एटीएम, रेष्टुँरा, एम्बुलेन्स लगायत अत्याबश्यक तथा ब्यबसायीक सूचना उपलब्ध गराउँछ । मोवाइल प्रयोगकर्ता ग्राहकले आफु उभिएको स्थानबाट सो स्थान कता पर्छ र कति दूरीमा अबस्थीत छ भन्नेबारे पनि जानकारी पाउँछन् ।

साना तथा मझौला ब्यापारिक केन्द्रहरुका लागि उपयोगी हुने यो एप्लिकेसन प्रयोग गरेर रेष्टुरेण्ट, होटल, पार्टी प्यालेस लगायतका ब्यबसायले आफ्नो वस्तु र सेवाबारे वरिपरि रहेका ग्राहकलाई जानकारी दिन ती ग्राहकलाई आफुसम्म ल्याइपुर्‍याउन सक्छन् ।

गत डिसेम्बरमा सार्वजनिक गरिएको यो एप्लिकेसन एण्ड्रोइड तथा आईओएस प्रयोकर्ताले करिव २० हजार डाउनलोड गरिसकेका छन् । एनलोकेट डटकममार्फत् कम्प्युटरमै पनि यो एप्लिकेसन चलाउन सकिन्छ ।

हाल काठमाण्डौका ब्यापारिक सूचनालाई मात्र समावेश गरिरहेको यो एप्लिकेसनले छिटै काठमाण्डौ बाहिरका मूख्य सहरमा रहेका ब्यबसायीक सूचनालाई पनि समावेश गर्ने योजना बनाएको प्रबन्ध निर्देशक चापागाईंले जानकारी दिनुभयो ।

No comments:

Post a Comment