विश्वको पहिलो टेस्ट ट्युब बर्गर



वैज्ञानिकहरूले सोमबार पहिलोपटक प्रयोगशालामा हुर्काइएको
मासुको बर्गर सार्वजनिक गरेका छन् । यसलाई लन्डनमा स्वयंसेवीहरूलाई खानका लागि उपलब्ध गराइएको छ र यसबाट खाना उत्पादनमा क्रान्ति आउनसक्ने अनुमान गरिएको छ ।
एकसय ४० ग्रामको यस खानाको मूल्य हाल तीन लाख ३० हजार अमेरिकी डलर रहेको छ । यो मासु प्रयोगशालामा हुर्काउन एउटा जीवित गाईको कोष लिइएको थियो ।
उक्त मासुलाई स्वादिलो बनाउन नुन, फूलको धुलो तथा रोटीको धुलो राखिएको थियो र त्यसलाई रातो गान्टेमुलाको रस तथा केसर राखी रातो बनाइएको थियो । अनुसन्धानकर्ताहरूले यसको स्वाद सामान्य बर्गरजस्तै हुने बताएका छन् ।
नेदरल्यान्ड्सको मास्ट्रिक विश्वविद्यालयका प्राध्यापक मार्क पोस्टको अनुसन्धानशालामा यो मासुको विकास भएको हो र उहाँले यो सुरक्षित रहेको बताउनुभयो । उहाँले यसले आउँदा दिनमा लाखौँ जनताको खानामा मासुको स्थान प्राप्त गर्ने बताउनुभयो ।
उहाँले एक टीभी स्टुडियोमा आयोजित पत्रकार सम्मेलनमा एक धातुले ढकनीले ढाकेको प्लेट ल्याउनुभएको थियो । उक्त कार्यक्रममा उक्त खाना अमेरिकाका खानासम्बन्धी लेखक जोस स्कोनवाल्ड तथा अस्ट्रेलियाका खानासम्बन्धी अनुसन्धानकर्ता हानी रुएज्लरलाई उपलब्ध गराइएको थियो ।
उहाँले उक्त खाना खाएपछि यो बढी नरम हुने र त्यसमा बोसो नहुने धारणा राखिएको बताउनुभयो । उहाँले यो मासुजस्तै भएको उल्लेख गर्नुभयो । गुगलका सहसंस्थापक सेर्गेइ ब्रिनले यस परियोजनामा लगानी गरेको यस पत्रकार सम्मेलनमा बताइयो ।
मास्ट्रिकका एक समूहले गाईको उक्त कोषलाई मासुमा परिणत हुन पोषणको घोलमा राखिदिएका थिए । यसपछि उक्त कोष बर्गर बन्न लायक मासुमा परिणत भएको थियो ।
हाल यस प्रकारको मासु उत्पादन गर्न निकै महङ्गो भए पनि आउँदो १० देखि २० वर्षमा यस्तो मासु बजारमा उपलब्ध हुने उनीहरूले धारणा राखेका छन् ।
हाल जनावरको कल्याणका साथै वातावरण तथा सार्वजनिक स्वास्थ्यका विषयमा निकै वकालत भएको अवस्थामा टेस्ट ट्युब मासुको अवधारणा अगाडि आएको हो ।
प्रयोगशालामा सिर्जना गरिएका मासुमा सैद्धान्कि रूपमा कुनै जोखिम तथा रोग नहुने अपेक्षा गरिएको छ र यसमा एन्टिबायोटिक्सबाट उपचार पनि गर्नुनपर्ने अपेक्षा गरिएको छ ।
जनावरको अधिकारका विषयमा वकालत गर्ने संस्था पेटाले अमेरिकामा पक्षी प्रजातिको शरीर बाहिर उनीहरूको मासु उत्पादन गरी बजारमा ल्याउने सफल प्रयोगशालालाई १० लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको छ । यस संस्थाले यस प्रकारको मासु विकास गर्न कोष उपलब्ध गराउँदै आएको छ ।
कार्डिफ विश्वविद्यालयका समाजशास्त्री डा निल स्टिफन्सले पनि यस प्रकारको टेस्ट ट्युब मासुका विषयमा अध्ययन गर्नुभएको छ र उहाँले यस परियोजनाले पनि विवाद सिर्जना गर्ने दाबी गर्नुभएको छ ।
उहाँले यस प्रकारको अनुसन्धानमा हाल नेदरल्यान्ड्स तथा उत्तर अमेरिकामा ५० व्यक्ति संलग्न भएको उल्लेख गर्नुभयो ।

No comments:

Post a Comment