फेसबुकमा भाइरस


फेसबुकको साइटमा रहेका विभिन्न खाले भाइरस
तथा त्रुटी पत्ता लगाएर सूचना दिनेलाई फेसबुकले पुरस्कृत गर्ने गरेको छ । पछिल्लो दुइ वर्षमा यस्ता सूचनादातालाई पुरस्कार दिनका लागि १० लाख डलर खर्च गरिएको फेसबुकले जनाएको छ ।
यसरी फेसबुकको भाइरसका बारेमा जानकारी दिएर पैसा कमाउनेमा भारतीयहरु दोश्रो स्थानमा परेका छन् । ७ करोड ८० लाख फेसबुक प्रयोगकर्ता रहेको भारतका फेसबुक प्रयोगकर्ताहरुले फेसबुकको बग बाउन्टी प्रोग्राममार्फत लाखौँ रुपैयाँ आर्जन गर्न सफल भएका हुन् । भारतमा फेसबुकको यस्तो कार्यक्रमबाट लाभ आर्जन गर्ने मानिसको संख्या तिब्र गतिमा बढिरहेको बताइएको छ ।
वेबसाइटलाई सुरक्षित तथा सफा राख्न मद्दत पूराउने शोधकर्तालाई हौसला प्रदान गर्न फेसबुकले दुइ वर्षअघि यस्तो कार्यक्रम सुरु गरेको थियो । बग अर्थात् त्रुटी वा भाइरसले सफ्टवेयरलाई क्रयास गर्छन् तथा सिस्टममा अनधिकृत रुपमा प्रवेश गरी ह्याक गर्ने खतरा पनि हुन्छ । फेसबुकले यो कार्यक्रम अपेक्षाभन्दा बढि सफल भएको बताउँदै १० लाख अमेरिकी डलर भन्दा बढि रकम पुरस्कारको रुपमा बाँडेको र फेसबुकको संरचना तथा प्रणालीलाई भाइरस तथा त्रुटीमुक्त बनाउन विश्वभरमा शोधकर्तासँग मिलेर काम गरेको जनाएको छ ।
फेसबुकका अनुसार ३२९ जना मानिसले यसरी पुरस्कार पाएका छन् । यसरी पुरस्कार पाउनेमा केही पेशेवर सफ्टवेयर प्रोग्रामर देखि लिएर विद्यार्थी तथा आंशिक जागिरेहरु पनि थिए । एक जना १३ वर्षको बच्चाले समेत फेसबुकको त्रुटी पत्ता लगाएर पुरस्कार पाएको बताइएको छ ।
फेसबुकको भाइरस पत्ता लगाएर सबैभन्दा बढि पुरस्कार पाउनेमा अमेरिका पहिलो, भारत दोश्रो, बेलायत तेश्रो, टर्की चौथो तथा जर्मनी पाँचौ स्थानमा छ । ५१ देशका मानिसले पुरस्कार पाएपनि अमेरिकी मात्रैले कुल पुरस्कार राशीको २० प्रतिशत कुम्ल्याउन सफल भएका छन् । अझ त्यसरी पुरस्कार पाउने मध्ये २ जनाले त फेसबुक कम्पनीमै जागिर पाएका छन् ।

No comments:

Post a Comment