बोक्सीको आरोपमा १४ वर्षसम्म यातना


नेपालका विभिन्न गाउँहरुमा महिलामाथि
बोक्सीको नाममा भइरहेका अमानवीय घटनाका बारेमा बेला–बेलामा समाचारमा आउने गरेको छ । तर केही समययता काठमाडौं उपत्यकामै पनि बोक्सीको आरोपमा महिलालाई यातना दिने क्रम बढ्न थालेको छ ।     काठमाडौं स्वयम्भु किमडोलकै प्रमिला शाक्यमाथि विगत १४ वर्षदेखि बोक्सीका नाममा विभिन्न यातना दिँइदै आइरहेको थियो । उहाँमाथि भइरहेको हिंसालाई बाहिर ल्याउने काम अन्तरपार्टी महिला सञ्जालले गरेको छ । सञ्जालले आज यहाँ आयोजना गरेको कार्यक्रममा ४० वर्षीया प्रमिला शाक्यले आफूमाथि पति तथा परिवारका सदस्यले हिंसा गर्ने गरेको बताउनुभयो ।

सानै उमेरमा आमाको मृत्यु भएपछि उहाँको पालनपोषण मामा घरकी हजुरआमाले गर्नुभएको थियो । विसं २०४९ माघ २५ गते मागी विवाह भएको उहाँको सुरुका दिनमा श्रीमान् तथा परिवारबाट माया पाएपनि पहिलो सन्तानका रुपमा छोराको जन्म भएपछि भने उहाँमाथि घरेलु हिंसा सुरु भयो ।
पहिलो छोरो सुस्त मनस्थितिको भएपछि उहाँलाई बोक्सीको आरोप लगाइएको थियो । उहाँले भन्नुभयो, “ परिवारका सदस्यहरुले तेरो हजुरआमा बोक्सी भएकाले तँलाई पनि बोक्सी विद्या सिकाएर छोरालाई यस्तो भएको हो भन्थे ।” पहिलो छोराको जन्म हुँदा माइतीमा सुत्केरी स्याहार्न पठाएपनि दोस्रो र तेस्रो सन्तानको पालामा घरमा नै नजरबन्द अवस्थामा राखिएको उहाँले बताउनुभयो ।
“मलाई आफ्ना सन्तानलाई छुन, बच्चाहरुको कपडा धुनसमेत पनि दिइएन, त्यसैले कहिलेकाहीँ बच्चाहरुको कपडा छुन पाएपनि असाध्यै खुशी लाग्थ्यो”–प्रमिलाले भन्नुभयो । १४ वर्षको अवधिमा आफूलाई शौचालय सफा गर्न, घरको भूइँ पुछ्न र भाँडा माझ्न मात्र लगाइएको उहाँले सुनाउनुभयो ।
आफूले छोएको खानासमेत कसैले नखाने गरेको बताउँदै उहाँले भन्नुभयो, “खाने बेलामा हेर्‍यो भने मात्र पनि बोक्सी तैँले हेरेर अब बिरामी होइन्छ भन्दै हेर्न पनि दिँदैनथे, सबैले खाइसकेपछि अन्तिममा मात्र खान पाउथेँ ।”
उहाँलाई कौसीबाट तल झर्न पनि नदिने भएकाले कसैले कौसीमा देखेर को हो भनेर सोध्यो भने काम गर्ने मान्छे भनेर भन्ने गरेको उहाँ बताउनुहुन्छ । दिन रात कौसीमा बस्ने भएकाले मैले घाम, असिना, पानी, हुरी बतास सबै सहन सक्ने भइसकेकी थिएँ–उहाँले भन्नुभयो ।
स्वयम्भू बस्ने उहाँको परिवार चार वर्षअघि शान्तिनगर सरेपछि उहाँमाथिको हिंसा पनि बढ्न थालेको थियो । बोक्सी भन्दै परिवारका सदस्यले उहाँमाथि उमालिएको नुनपानी खन्याउने, कपाल खौरिदिने, मकलमा आगो बालेर खुर्सानीको धुँवा सुँघाउने, चिम्टाले डाम्ने, सिस्नोले पोल्नेलगायतका यातना दिने गर्दथे ।
प्रमिलाले भन्नुभयो, “मेरा दुई अविवाहित नन्दमध्ये जेठीलाई माता आउँथ्यो, माता आएको बेलामा यही बोक्सी हो भन्थिन्, कान्छी नन्दलाई बोक्सी लागेको थियो, उनी पनि बोक्सी यही हो भन्दै बक्थिन्, त्यसपछि परिवारका सदस्य मिलेर निर्घात् कुटपिट गर्न थालिहाल्थे ।”
एकपटक त्यस्तै कुटपिटबाट रक्ताम्य भएर रगत पखाल्न धारामा गएका बेला परिवारका सदस्यले लठ्ठीमा किला ठोकेर त्यसको टाउकामा हान्नुपर्छ भन्दै योजना बनाइरहेको सुनेपछि अब बाँचिन्न भन्दै उहाँ घरबाट भाग्नुभयो ।
मानसिक रुपमा समेत निकै विक्षिप्त अवस्थामा रहनुभएकी प्रमिला आफ्नी दिदीको घरमा पुगेपछि भने बल्ल यो घटना सार्वजनिक भएको थियो । माइती पक्षको सल्लाहबमोजिम उहाँको श्रीमान् विश्वरत्न शाक्य र परिवारविरुद्ध मुद्दा दायर गरिएको छ ।
प्रमिलाकी भाउजु डा। अमिता प्रधानका अनुसार सो परिवारले प्रमिलाकी जेठानीलाई पनि विगत २०र२२ वर्षदेखि कतै पनि जान नदिने गरी नजरबन्दमा राखेको छ । त्यति मात्र नभई जेठानीकी आमालाई विसं २०५१ मा जेठाजु बुद्धरत्न शाक्यले बोक्सीको आरोपमा स्वयम्भूमा कपाल काट्न लगाई, मानव मलमूत्रसमेत खुवाएर जुत्ताको माला लगाइदिएका थिए ।
उक्त घटनामा सार्वजनिक मुद्दाअनुसार दाजुभाइ बुद्धरत्न र विश्वरत्न दुई दिन जेलमा बसेर फर्किएका थिए । कुनै कारबाही नभएकै कारण उनीहरुले पुनः सोही प्रकारका घटना दोहोर्‍याएको डा। प्रधानको भनाई छ ।
सोही अवसरमा आजै स्वयम्भू युवा परिवारले एक विज्ञप्ति जारी गरी स्वयम्भु बुद्धाचार्य परिवारभित्रका पूजारी, गुठियारले सो पीडक परिवारसँग बोलचाल एवम् सम्बन्ध नगर्ने गरी सामाजिक बहिष्कार गरेको जनाएको छ ।  घटनाविरुद्ध विभिन्न राजनीतिक पार्टीका महिला प्रतिनिधिहरुले समर्थन जनाई यस्ता घटना बारम्बार दोहोरिन नदिनका लागि पीडकलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने माग गरे ।
कार्यक्रममा पूर्व सभासद् प्रतिमा राणा, निर्मला शाक्य, कुन्ती शाही, मञ्जरी शाक्य, विजया केसीलगायतले यस घटना एकजना महिलाको मात्र पीडा नभई सम्पूर्ण महिला वर्गकै पीडा भएको भन्दै पीडितलाई न्याय दिलाउन ढिलासुस्ती गर्न नहुनेमा जोड दिनुभयो ।

No comments:

Post a Comment