फेसबुक प्रमुखको नै फेसबुक अकाउण्ट ह्याक


विश्वको नम्वर वान इन्टरनेट सोसल साइट फेसबुकका
संस्थापक तथा प्रमुख कार्यकारी मार्क जुकरबर्गको फेसबुक अकाउण्ट ह्याक भएको छ । प्यालेस्टाइनका एक ह्याकरले जुकरबर्गको फेसबुक अकाउण्ट ह्याक गरी उनको वालमा लेखिदिएका छन् ।
खालिल श्रेटेहले फेसबुकको प्राविधिक कमजोरी पत्ता लगाएर फेसबुकको मुख्यालयमा जानकारी दिँदा समेत वास्ता नगरेपछि फेसबुकका प्रमुख जुकरबर्गकै फेसबुक अकाउण्ट ह्याक गरेर सबैलाई तरंगित पारेका हुन् ।

सुरुमा उनले फेसबुकमा रहेको बग अर्थात् कमजोरी पत्ता लगाएर त्यसका बारेमा फेसबुकको मुख्यालयस्थित सुरक्षा टोलीलाई जानकारी गराए । उनले फेसबुकमा एउटा मुख्य प्राविधिक कमजोरी रहेको र त्यो कमजोरीको फाइदा उठाउँदै जो कोहीले पनि अर्काको फेसबुक वालमा प्रवेश गरी जे पनि लेख्न सक्ने कुरा जानकारी गराउँदै त्यसको प्रमाण सहित फेसबुकको सेक्युरिटी फिडब्याक पेजमा लेखि पठाएका थिए । फेसबुकमा भाइरस तथा प्राविधिक त्रुटीहरु पत्ता लगाएर सोही पेजमा जानकारी पठाउनेलाई यसअघि फेसबुकले पुरस्कृत गरेको थाहा पाएका खालिलले पनि आफ्नो नयाँ अनुसन्धानको जानकारी फेसबुकलाई गराएका थिए । तर फेसबुकको सुरक्षा टोलीले त्यसलाई वास्ता गरेन । उनले दोश्रो पटक फेरि जानकारी पठाए । दोश्रो पटकमा फेसबुकले उनलाई इमेल लेख्यो । इमेलमा लेखिएको थियो, ‘माफ गर्नुहोला त्यो बग होइन ।’

त्यति ठूलो प्राविधिक त्रुटी पत्ता लगाइदिँदा झनै पुरस्कार दिनु पर्नेमा उल्टै त्रुटी नै होइन भनेर फेसबुक पन्छिएपछि झोँक्किएका खालिलले त्यसपछि बल्ल फेसबुकका प्रमुखकै फेसबुक ह्याक गरेर आफ्नो आविष्कार प्रमाणित गर्ने निधो गरे । त्यसपछि उनले जुकरबर्गको फेसबुक ह्याक गरे र जुकरबर्गको वालमा यस्तो लेखे ,’सबैभन्दा पहिले तपाइँको गोप्यता भंग गरेको तथा वालमा पोष्ट गरेकोमा माफी चाहन्छु, मैले फेसबुक टिमलाई सबै रिपोर्ट पठाइसकेपछिको अवस्थामा आखिर यसको विकल्प थिएन ।’ उनले त्यो सँगै परिस्थितिको व्याख्या गर्दै त्यसलाई पुष्टि गर्ने लिंक पनि दिएका छन् ।
जुकरबर्गको अकाउण्ट ह्याक भएको केही मिनेटमै फेसबुकका इन्जिनियरले खालिललाई फोन गरे थप सूचना लिन । अनि सावधानीका लागि उनको अकाउण्ट ब्लक गरियो र बल्ल सुरक्षा टोलीले उक्त प्राविधिक त्रुटीको समाधान गरे । पछि उनको फेसबुक अकाउण्ट पुनः सक्रिय पारियो ।
स्मरण रहोस् यसरी फेसबुकका प्राविधिक त्रुटी पत्ता लगाउनेलाई फेसबुकले पुरस्कार दिने गरेको थियो । तर खालिलाई यस्तो पुरस्कार भने नदिइने भएको छ । जुकरबर्गको फेसबुक वाल ह्याक गरी फेसबुकको सेवाको शर्त उल्लंघन गरेकाले उनलाई इनाम नदिइने भएको हो । तर भविष्यमा पनि यस्तै त्रुटीहरु पत्ता लगाएर सहयोग गर्न भने खालिललाई फेसबुकले आग्रह गरेको छ ।

No comments:

Post a Comment