फूटबलबाट नै बिधुत


सृजनात्मक उत्पादनहरुले मानिसहरुलाई
सहज जीवनयापनमा सहयोग गर्छन् भन्ने कुराका विभिन्न उदाहरण छन् । यसैक्रममा अनुसन्धानकर्ताहरुले एक यस्तो प्रकारको फूटबल विकास गरेका छन्, जसलाई खेल्दै कोठामा बत्ती बाल्न पुग्ने विद्युत् उत्पादन गर्न सकिन्छ । ‘सकेट’ नाम दिइएको यसलाई सामान्य फूटलबझैं खेल्न सकिन्छ । यसलाई लात्तीले हान्दै खेलेपछि यसभित्र रहेको एक सानो आकारको जेनेरेटरले काइनेटिक ऊर्जालाई विद्युत्मा परिणत गर्दछ । बलभित्र राखिएको सानो पेण्डुलमले चालको आधारमा निस्कने ऊर्जालाई जम्मा गर्दै जेनेरेटरमा पठाउने गर्दछ । उक्त विद्युत्लाई एक रिचार्जेबल ब्याट्रीमा भण्डार गरिन्छ, जसलाई चाहिएको बेला फूटबलमा राखिएको एक सानो सकेटमा तार जोडेर प्रयोग गर्न सकिन्छ ।
यसबाट उत्पादित विद्युत्ले एउटा कोठा झलमल्ल पार्ने एलईडी बत्ती बाल्न सकिन्छ । निर्माताहरुका अनुसार सकेटलाई आधा घण्टा खेलिसकेपछि ३ घण्टासम्म बत्ती बाल्ने विद्युत् उत्पादन हुन्छ । त्यसैगरी यसबाट स्मार्टफोन र ट्याब्लेट पनि चार्ज गर्न सकिन्छ । तर, हावा नभएको र पानीले नभिज्ने ‘एभा फोम’द्वारा निर्मित यो भकुण्डो सामान्य फूटबलभन्दा फरक भने छ । यसको तौल १७ औंस छ, जुन सामान्य फूटबलभन्दा १ औंस बढी हो ।
खेल्दै विद्युत् उत्पादन गर्ने यो फूटबलको निर्माण एक सानो अमेरिकी प्रविधि कम्पनी अनचार्टेड प्लेले गरेको हो । कम्पनीले नयाँ उत्पादनहरुको प्रवर्द्धन गर्ने वेबसाइट किकस्टार्टरका लागि यसको विकास गरेको हो । किकस्टार्टरले पहिलो उत्पादनलाई मानिसहरुले निकै रूचाएपछि अन्य विकसित रुपमा पनि बनाइने जानकारी दिएको छ । सकेट यो वर्षको अन्त्यदेखि बजारमा ल्याइने योजना बनाइएको छ ।

No comments:

Post a Comment