पहाडी क्षेत्रमा पानी पर्ने क्रम नरोकिएपछि सप्तकोशी नदिमा
पानीको बहाब दुई लाख क्यूसेक नजिक पुगेको छ ।
आज बिहानको पछिल्लो मापन अनुसार कोशीमा एक लाख ९९ हजार एक सय २७ क्युसेक प्रतिसेकेण्ड पानीको बहाब रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
यसअघि हिजो साँझ एक लाख ८९ हजार एक सय १५ क्युसेक रहेको पानीको बहाब लगातारको बर्षासँगै बढेको हो ।
आइतबार भने कोशीमा पानीको बहाब यस बर्षकै उच्च दुई लाख ४८ हजार क्युसेक पुगेको थियो ।
हिजो बिहान ११ बजेबाट पानीको बहाब घट्न थालेपनि पुनः रातीबाट पानी परेपछि बढेको जनाइएको छ । पानीको बहाब बढ्ने क्रम नरोकिएपछि कोशी ब्यारेजका ५६ मध्ये २७ वटा ढोका खोलिएको छ । पानीको बहाब उच्च रहेकाले खतराको सूचक रातो झण्डा राखिएको छ भने बत्ती पनि बालिएको छ । सप्तकोशीमा पानीको बहाब एक लाख ५० हजार क्युसेक कटेपछि रातो बत्ति बाल्ने गरिन्छ ।
सन् १९६२ मा बनेको कोशी ब्यारेजमा नौ लाख ५० हजार क्युसेकसम्म पानीको बहाब धान्न सक्ने क्षमता रहेको बताईएपनि पछिल्लो समय सतहमा बालुवा थुप्रिएकाले कम बहाबमै पनि समस्या हुने गरेको छ ।
२०६५ भदौ २ गते सप्तकोशीले पूर्वी तटबन्ध भत्काउदा कोशीमा पानीको बहाब एक लाख ६८ हजार क्युसेक मात्र थियो ।
यसैविच, गएरातीदेखि परेको पानीले दाङको देउखुरीमा ४ वटा घर भत्किएका छन् ।
चैलाही–२ कोलही गाउँमा वगई सोतामा आएको वाढी पस्दा घर भत्किएको लमही प्रहरीले जनाएको छ । वाढीका कारण स्थानीय गणेश चौधरी, छबु चौधरी, खगु चौधरी र विरु चौधरीको घर भत्कीएको हो । घर भत्किएपछि त्यहाँ रहेका अन्नपात लत्ता कपडा सबै नष्ट भएका छन् । वाढी पिडित अहीले छिमेकीको शरणमा पुगेका छन् ।
यसैविच, गएराति देखि परेको अबिरल बर्षापछि आएको बाढिका कारण नवलपरासिको
शिबमन्दिर ६ डुबानमा परेको छ ।  अबिरल बर्षापछि केरुङ्गे खोलामा आएको बाढि खयरघारी हुदै गाँउ पसेको हो ।
बाढीका कारण अहिलेसम्म दर्जन बढी घर डुबानमा परेको स्थानिय टिकाराम
डुम्रेले जानकारी दिनुभयो ।
बाढिका कारण झण्डै १ सय बिगाहामा लगाईएको धानबालि पुर्ण रुपमा नष्ट भएको डुम्रेले बताउनुभयो ।

No comments:

Post a Comment