विश्वका सबैभन्दा बृद्ध व्यक्तिको निधन


विश्वका सबैभन्दा बृद्ध
(बढी उमेरका) व्यक्तिको निधन भएको छ । उहाँ जापानको क्योटो सहरका स्थानीय निवासी हुनुहुन्थ्यो । जापानी अधिकारीहरुका अनुसार जापानी नागरिक जिरोमोन किमुराको उमेर ११६ वर्ष थियो । उहाँलाई विश्वको सबैभन्दा बढी उमेरका व्यक्तिका रुपमा गिनिज बुक अफ वल्र्ड रेकर्डस्ले मान्यता दिएको थियो ।

क्योटोको कियोताङ्गो सहरद्वारा बुधबार प्रकाशन गरिएको विज्ञप्तिमा उहाँको बुधबार विहान सोही सहरको एक स्थानीय अस्पतालमा निधन भएको बताइएको छ । उहाँको जन्म सन् १८९७ मा सोही सहरमा भएको थियो । उहाँलाई आफ्नो यो उमेरसम्म पनि खासै त्यस्तो कुनै घातक रोग लागेको थिएन । 

मे महिनाको सुरुमै उहाँलाई सो अस्पतालमा भर्ना गरिएको थियो । उहाँलाई निमोनियाको समस्या देखिएपछि अस्पताल भर्ना गरिएको बताइएको थियो । गतहप्ता मात्र सो अस्पतालका चिकित्सकले उहाँको अवस्था नाजुक बन्दै गएको बताएका थिए । अस्पतालका चिकित्सकले उहाँलाई त्यस्तो खतरनाक रोग नलागेको र सामान्य रुपमा निमोनियाले ग्रस्त बनाएको बताएका थिए ।

यसअघि संयुक्त राज्य अमेरिकाकी एक महिला विश्वकी सबैभन्दा बृद्ध व्यक्तिका रुपमा रहेकी थिएन् । ११५ वर्षीया उनको सन् २०१२ मा निधन भएपछि किमरालाई गिजिन बुकले बढी उमेरका व्यक्तिको मान्यता दिएको थियो । यसअघि फ्रान्सकी जेनी काल्मेट भने १२२ वर्षको उमेरकी थिइन् । उनको सन् १९९७ मा निधन भएको थियो । उनको निधन पछि अमेरिकी महिलालाई रेकर्डको उपाधि दिइएको थियो ।

उहाँका सात जना छोराछोरी, १४ जना नाती नातिना, २५ जना पनाती पनातिना र १५ जना खनाती खनातिनाको सन्तान रहेको थियो । उहाँले ४० वर्षसम्म जापानको हुलाक सेवामा काम गर्नुभएको थियो । जागिरबाट अबकास लिएपछि उहाँले खेतीपातीको काममा लाग्नुभएको थियो । आफ्नो उमेर ९० वर्षको हुँदासम्म उहाँले खेतीपातीको काममा नै निकै सक्रिय रुपमा काम गरिरहनुभएको पनि सो सहरबाट आज प्रकाशन गरिएको विज्ञप्तिमा जनाइएको छ ।

उहाँले कहिल्यै पनि धूमपान नगर्नुभएको उहाँका परिवारले जनाएका छन् । साथै उहाँले कहिल्यैपनि पूरै खाना नखाने अथवा खान मन लाग्दालाग्दै उठ्नुहुने गरेको पनि परिवार स्रोतले जनाएका छन् ।
उहाँले खाने कुरा धेरै नखाने र अरुलाई पनि सोही सल्लाह दिनुहुन्थ्यो । उहाँका परिवारलाई उद्धृतगर्दै सो विज्ञप्तिमा जनाइएको छ– थोरै खाने र धेरै बाँच्ने नै उहाँको सिद्धान्त थियो ।

क्योटोको उहाँको जन्मस्थलमा आज समवेदना पुस्तिका राख्ने भएको सो सहरका मेयरले जनाउनुभएको छ । उक्त सहरका मेयरले नै उहाँलाई श्रद्धाञ्जली दिने कार्यक्रम राखिएको छ । उहाँको यो सिद्धान्तबाट प्रभावित भएका सोही सहरका ९४ जना व्यक्ति पनि यसैवर्ष सय वर्षको उमेर पुग्दैछन् । उनीहरुलाई पनि किमोरोले नै थोरै खान र धेरै बाँच्न प्ररित गर्नुभएको थियो ।

उहाँहरुको खानपान र अरु जीवन शैलीका बारेमा जापानको विभिन्न ३६ नगरपालिकाका अनुसन्धाताहरुले हालैमात्र अनुसन्धानको काम थालेका पनि बताइएको छ । किमोरो उक्त सहरका एक प्रख्यात व्यक्ति भएकोले उहाँप्रति श्रद्धाञ्जली दिन कयौँ नागरिक आउने भएकोले दुईदिनपछि मात्र उहाँको अन्तिम संस्कार गरिने भएको छ ।

No comments:

Post a Comment