नर्स जसिन्था साल्दान्हा बेलायतमा मृत अवस्थामा


डचेज अफ क्याम्ब्रिज केट गर्भवती भएको खबर सार्वजनिक गर्ने
नर्स जसिन्था साल्दान्हा बेलायतमा मृत अवस्थामा फेला परेकी छिन् । अस्ट्रेलियाली रेडियो टुडे एफका प्रस्तोताले फर्जी कल गरी केट मिडल्टनको खबर सोधेपछि उनले केट गर्भवती भएको जानकारी दिएकी थिइन् । अस्पतालमा कल रिसिभ गर्ने रिसेप्सनिस्ट नभएका कारण आफैँले टेलिफोन उठाएकी थिइन् । दुवै प्रस्तोताले महारानी एलिजावेथ तथा युवराज चाल्र्स बनेर अस्पतालमा फोन गरेपछि शाही परिवारबाट नै फोन आएको सम्झेर उनले केटको खबर बताएकी थिइन् । जसिन्था कार्यरत किंग एडवार्ड सातौँ अस्पतालले उनको मृत्युको पुष्टि गर्दै उनीप्रति श्रद्धाञ्जलि अर्पण गरेको छ । उनी विगत चार वर्षदेखि यस अस्पतालमा कार्यरत रहेको अस्पताल प्रशासनले जनाएको छ । मृत नर्सका दुई सन्तान रहेको बेलायती सञ्चारमाध्यमले जनाएको छ । अचानक जसिन्थाको मृत्यु भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
डयुक तथा डचेज अफ क्याम्ब्रिजले विज्ञप्ति जारी गरी नर्स जसिन्थाको मृत्युप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उनी भारतीय मूलकी नर्स भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
गत सोमबार अचानक केट अस्वस्थ भएपछि उनलाई किंग एडवार्ड सातौँ अस्पतालमा भर्ना गरिएको थियो । उनलाई गत बिहीबार डिस्चार्ज गरिएको हो ।
बिबिसीका शाही परिवार संवाददाता पिटर हन्टले मृतक जसिन्थाले नै फर्जी टेलिफोन कलको जवाफ दिएको जानकारी दिएका छन् । फर्जी कलको जवाफ दिए पनि नर्सलाई अस्पतालले निलम्बन वा अन्य कुनै प्रकारको कारबाही नगरेको उनले बताएका छन् । त्यस्तै, शाही परिवारले पनि केटको सूचना दिने नर्सबारे कुनै गुनासो नगरेको शाही प्रवक्ताले जनाएका छन् ।
यसैबीच फर्जी कल गरी केट गर्भवती भएको समाचार पत्ता लगाएका अस्ट्रेलियाली रेडियो स्टेसनका दुवै प्रस्तोतालाई रेडियोले निष्कासन गरेको समाचार प्राप्त भएको छ ।
मेलबर्नमा शनिबार आयोजित पत्रकार सम्मेलनमा कम्पनीका मुख्य कार्यकारी निर्देशक राइज होलेरानले केट गर्भवती भएको समाचार सार्वजनिक गरेर रेडियोले कुनै पनि कानुनको उल्लंघन नगरेको बताएका छन् । यसअघि किंग एडवार्ड सातौँ अस्पतालका कार्यकारी निर्देशक जोन लफ्ताउनसले भने केटको समाचार प्रसारण गरेर रेडियोले कानुनको उल्लंघन गरेको आरोप लगाएका थिए ।

No comments:

Post a Comment