सरकारी प्रशारण संस्था बन्द गरे


खर्च कटौतीका लागि भन्दै
ग्रीस सरकारले सरकारी प्रशारण संस्था बन्द गरेको छ ।
राष्ट्रिय टेलिभिजन र रेडियो स्टेशन सञ्चालन गर्ने संस्था हेलेनिक ब्रोडकाष्टिङ कर्पोरेशन इआरटी बन्द गर्ने निर्णय सरकारले गरेको हो ।
सरकारको निर्णयले साढे २ हजार भन्दा बढी कर्मचारी मारमा परेका छन् । सरकारका प्रवक्ताले ठूलो मात्रामा पैसा बर्बाद भएकाले त्यसलाई जोगाउनका लागि प्रशारण संस्था बन्द गराउनुपरेको बताएका छन् ।
उनले सरकारी प्रशारण संस्थालाई छिटै सानो र स्वतन्त्र संगठनका रुपमा फेरी स्थापना पर्ने बताएपनि त्यसका लागि कति समय लाग्छ भन्ने नखुलाएको अन्तर्राष्ट्रिय सन्चारमाध्यमले जनाएका छन् ।
सरकारले हटाइएका कर्मचारीलाई राहत उपलब्ध गराइने र उनीहरुले नयाँ बन्ने संस्थामा रोजगारीका लागि आवेदन गर्न सक्ने बताएको छ । युरोपेली युनियनले दिएको राहत प्याकेजको शर्त अनुसार सरकारी खर्चमा कटौती र कर वृद्धि गर्ने लक्ष्य अनुसार ग्रीस सरकारले पछिल्लो कदम चालेको हो ।
सरकारी निर्णयको विरोध गर्दै कर्मचारीहरुले इआरटीको मुख्यालय बाहिर प्रदर्शन गरेका छन् । सञ्चारकर्मीहरुले सरकारको निर्णय लोकतन्त्रका लागि ठूलो झट्का भएको प्रतिक्रिया दिएका छन् ।
इआरटीले तीन वटा राष्ट्रिय टेलिभिजन च्यानल, चारवटा राष्ट्रिय रेडियो, क्षेत्रिय रेडियो स्टेशन र बाह्य सेवाका रुपमा भ्वाईस अफ ग्रीस सञ्चालन गर्दै आएको थियो ।

No comments:

Post a Comment